-->
Loading...
बाबुराम भट्टराईपुत्रीको बिहेमा जे देखियो हाई प्रोफाईलको छोरीको लो प्रोफाईल विहे!

काठमाडौं – अनुमान स्वाभाविक थियो, ‘हाइप्रोफाइल’ डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईको विवाह भव्य हुनेछ । तर शनिबार भट्राईनिवास, सानेपामा विवाहको जुन दृश्य देखियो, त्यसले अनुमान गलत प्रमाणित गरिदिएको छ ।
तनहुँ, रिसिङका प्रेमी जेकेन्द्र श्रेष्ठसँग मानुषीको विवाह सामान्यरूपमा सम्पन्न भएको छ । विवाहमा दुई सयजनालाई निम्तो गरिएको थियो । तर कुनै कार्ड छापिएको थिएन । त्यसैगरी शुभकामना दिन आउनेलाई उपहार नल्याउन अनुरोध गरिएको थियो । ठूलो भोज पनि गरिएको थिएन, सामान्य खाजा खुवाइएको थियो ।
विवाहको कार्यक्रमका लागि झण्डै बीस मिनेट खर्चिइएको थियो । बेहुला–बेहुलीको प्रतिबद्धता र अभिभावकले शुभकामनासँगै कार्यक्रम सकिएको थियो ।
विवाहको खर्च कटाएर सामाजिक काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त नवदम्पत्तिले भूकम्पबाट क्षतिग्रस्त त्रिवि केन्द्रीय पुस्तकालयलाई ५० हजार प्रदान गरे । विवाह कार्यक्रममै पुस्तकालयका प्रमुख जनार्दन ढुंगानालाई भौचर हस्तान्तरण गरियो ।
त्यसैगरी नवदम्पत्तिले खाडीमा मुलुकमा रोजगारीका क्रममा ज्यान गुमाएका पूर्वजनमुक्ति सेना रमेश तामाङकी छोरी फुर्मी तामाङलाई अध्ययनका लागि सहयोगस्वरूप ३० हजार हस्तान्तरण गरे । उनीहरूको उनको अध्ययनमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जारी गरे ।
विवाहमा अख्तियार प्रमुख लोकमान सिंह कार्की, प्रधानसेनापति राजेन्द्र क्षेत्री, कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र प्रहरी महानिरीषक उपेन्द्रकान्त अर्यालको उपस्थिति थियो ।
अमेरिकी राजदूत अलाइना बी तेप्लीज, चिनियाँ राजदूत उ चिन्ताई र भारतीय राजदूत रञ्जित रे पनि विवाहमा देखिए । मिडियाकर्मीका साथै मुख्य सचिव डा. सोमलाल सुवेदी, पूर्वसभामुख दमननाथ ढुंगाना, लेखक खगेन्द्र संग्रौला, नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे, नायिका रेखा थापालगायतको उपस्थिति पनि विवामा थियो ।
मानुषी केन्द्रीय क्याम्पस, किर्तिपुरकी स्ववियु सचिव छँदा जेकेन्द्र अखिल (क्रान्तिकारी)का अध्यक्ष थिए । त्यसबेलादेखिको मित्रता डा. भट्राई प्रधानमन्त्री बनेताकाबाट प्रेमसम्बन्धमा बदलिएको पारिवारिक स्रोतले बताएको छ । जेकेन्द्र पनि अहिले डा. भट्टराई नेतृत्वको नयाँ शक्तिमा क्रियाशील छन् ।
विवाहमा कसले के भने ?
डा. बाबुराम भट्टराई, बेहुलीका बुबा
विवाह निजी पारिवारिक विषय हो । छोरीको विवाह हाम्रो परिवारकोे खुसीको क्षण हो । हाम्रो खुशीमा सहभागी हुन आउनुभएका सबैलाई धन्यावाद व्यक्त गर्दछु । ३५ बर्ष पहिले मैले र हिसिलाजीले जस्तो खालको विवाह गरेका थियौं । आज छोरीले पनि त्यस्तै खालको विवाह गर्दा अझ धेरै खुसी लागेको छ ।
विवाह भनेको प्रेम सार्वजनिक गर्ने विधि हो । यसका आ–आफ्नै परम्परा र सभ्यता हुन्छन् । त्यसैले यो ठीक वा त्यो ठीक भन्ने हुँदैन । मूल कुरा सच्चा प्रेम र विश्वास हो । त्यो भयो भने सम्बन्ध सफल रहन्छ भन्ने मेरो मान्यता हो ।
एक दार्शनिकले भनेका छन्, ‘विवाह गर्नुहोस् । हाम्रो जीवनसाथी पाए खुशी हुनुहुन्छ । नराम्रो पाए दार्शनिक बन्नुहुन्छ ।’ तर विवाह प्रेमको सर्वोच्च अभिव्यक्ति पनि हो । त्यसैले यसको सम्मान गर्नुपर्छ । यसमा नयाँ पुस्ता सचेत भएको छ । त्यसैले कुरा सुन्नु बूढाको भन्ने उखानलाई परिवर्तन गर्दै कुरा सिक्नु नयाँ पुस्ताको भन्ने भएको छ ।
यो विवाहसँगै हाम्रो नयाँ पारिवारिक नाता पनि सुरु भएको छ । त्यहाँ पनिसमानताको आधारमा सम्मानजनक व्यवहार अघि बढ्छ ।
ध्रुवकुमार श्रेष्ठ, बेहुलाका दाइ
पुरानो अवैज्ञानिक चलनलाई त्यागेर नयाँ शैलीमा विवाह गरेर भाइ र बहिनीहरूले नयाँ सुरुवात गरका छन् । यो असाध्यै खुसीको कुरा हो ।
मानुषी यमी भट्टराई, बेहुली
विवाह गर्ने फरक–फरक तरिका हुन्छ । हामी आफ्नै तरिका अपनायौं । विवाह यो दुई व्यक्तिबीचको सुखद क्षण हो । हाम्रा आफन्तजन र पारिवारिक अभिभावकले यो खुसी बाँड्ने अवसर दिनुभयो । हाम्रो कदमलाई समर्थन गर्नुभयो । यसैमा हामी धेरै खुशी छौं । र, सबैप्रति आभारी पनि छौं ।
आज जनयुद्ध दिवस पनि हो । यतिबेला भुकम्पपछिको पुनर्निर्माण पनि चलिरहेको छ । त्यसैले हामीले विवाहको खर्च कटाएर जनयुद्धसँग सम्बन्धित र पुनर्निर्माणसँग सम्बन्धित पक्षलाई सहयोग गर्दैछौं । यो सांकेतिक सहयोग हो । किनकि हामी सामाजिक र राजनैतिक व्यक्ति पनि हौं ।
हाम्रो सम्बन्ध प्रेम र सम्मानसँगै अघि बढ्छ । सामाजिक रूपान्तरणलाई गन्तव्य बनाएर हिँड्न प्रतिबद्ध छौं ।
जेकेन्द्र श्रेष्ठ, बेहुला
वैवाहिक समारोहलाई वैधता दिनु आउनुभएका सवैलाई धन्यवाद । विवाह निजी कुरा हो । यस विषयमा सञ्चारमाध्यममा विविध कुरा आइरहेको भए पन िहामी यसलाई निजी नै बनाउन चाहन्छौं । त्यसैले प्रचारमा ल्याउन चाहन्नौं ।
हामी लामो समय एउटै आन्दोलनमा सहभागी भएर यहाँसम्म आयाँैं । अब नयाँ आन्दोलनमा सँधै जान सके जीवनको सार्थकता हुन्छ । ज्ञान र विज्ञानलाई ग्रहण गर्नै सके र समाजलाई सिर्जनशील बनाउन सके राम्रो हुन्छ । त्यसको सुरुवात हामीले त्रिविको पुस्तकालय र जनयुद्धसँग जोडिएको परिवारलाई सहयोगमार्फत गरेका छौं ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.