नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर नवयुग श्रेष्ठको ह्याट्रिकको मदतमा नेपाल दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको फाइनलमा १७ वर्षमा पुग्यो नै।
त्योसँगसँगै नवयुगले अन्तर्राष्ट्रिय फुटबलमा तेस्रो ह्याट्रिक गरेका छन्। त्यतिमात्रै होइन यु-२३ उमेर समूहको भारतको गुवाहाटीमा जारी साग फुटबलमा लगातार दोस्रो ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि बनेका छन्।
भारतमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा शनिवार नेपाल माल्दिभ्सलार्इ ४-३ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गर्दा नवयुगले ह्याट्रिक गरे। नवयुगले यसअघि साग फुटबलको उद्घाटन खेलमा भुटानविरूद्ध पनि ह्याट्रिक गरेका थिए। नवयुग श्रेष्ठले पछिल्लो चार हप्ताको अवधिमा अन्तर्राष्ट्रिय खेलमा तेस्रो ह्याट्रिक गरेका हुन्।
यसअघि माघको पहिलो हप्ता बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नवयुगकै ह्याट्रिकको मदतले नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेर २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो।
साग फुटबलमा भाल्दिभ्सविरूद्धको खेलमा नवयुगले खेलको ३६, १२० र १२१ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। नवयुगको योसँगै अन्तर्राष्ट्रिय फुटबलमा तेस्रो ह्याट्रिक हो।
यसअघि बंगबन्धु गोल्डकपमा चार गोल गरेका नवयुग मोस्ट भ्यालुएबल खेलाडीसमेत घोषित भएका थिए। श्रेष्ठले यसै वर्ष भारतमा भएको साउथ एसियन फुटबल (साफ) प्रतियोगिताबाट राष्ट्रिय टिममा डेब्यु गरेका हुन्।
इलाम मंगलबारेका २५ वर्षीय नवयुग त्रिभुवन आर्मी क्लबका भरपर्दा युवा फरवार्ड हुन्। राष्ट्रिय लिगमा राम्रो प्रदर्शन गरेपनि उनलाई राष्ट्रिय टिममा समावेश गरिएको थियो।
0 comments
प्रतिक्रिया दिनुहोस्...