काठमाडौं, भदौ २८। नेपालको धौलागिरी अञ्चलमा पर्ने मुस्ताङ जिल्ला हिमालपारिको जिल्ला हो। पवित्र कालीगण्डकीको शीर र हिन्दुको आस्थाको केन्द्र मुक्तिनाथ भएको कारणले विदेशी मात्र होइन प्रत्येक वर्ष हजारौंको संख्यामा नेपालीहरु मुस्ताङ जिल्लाको यात्रा गर्दछन्। केही वर्ष यता आएर मुस्ताङ जिल्ला जान लागि हवाई उडानको मात्र भर पर्नुपर्दैन। पोखरा-बाग्लुङ् सडकको म्याग्दीको बेनीदेखि मुस्ताङ जिल्लाको लागि मोटरमार्ग खुलेको छ।
म्याग्दीको सदरमुकाम बेनीबाट ७५ किमिको दूरीमा रहेको जोमसोम जॉदा बाटोमा पर्ने म्याग्दीको हिस्तान, घारा, मिरकोट दाना, तिप्ल्याङ गाउँ र मुस्ताङ जिल्लाको घॉस, लेते, कोवाङ र मार्फा हुँदै जोमसोम पुगिन्छ। मुक्तिनाथ जाने सोच र उद्देश्य राखेर मुस्ताङ पुग्ने धेरै मानिसहरु मार्फा र जोमसोमको चहलपहललाई नै मुस्ताङ सम्झिएर मुक्तिनाथको दर्शन गरेर फर्कने गर्दछन। मुक्तिनाथ हिन्दु तथा बौद्धमार्गीहरुको लागि महत्वपूर्ण तीर्थस्थल हो । यो समुद्रको सतहदेखि ३ हजार ७ सय १० मिटरको उचाइमा गोरङ्गा हिमालको फेदीमा रहेको छ।
विश्वमा १० उत्कृष्ट स्थलहरुमध्ये नेपालको उपल्लो मुस्ताङ तेस्रो स्थानमा पर्दछ। लिटिल टिब्बत भनेर विश्वलाई चिनाइराखेको उपल्लो मुस्ताङमा विदेशीहरुलाई सन् १९९२ देखिमात्र भ्रमणको लागि नेपाल सरकारले खुला गरेको हो। अहिले उपल्लो मुस्ताङमा नेपालीहरु भन्दा पनि विदेशी पर्यटकहरु धेरै जाने गर्दछन्। दैनिक सयौंको संख्यामा पुग्ने विदेशी पर्यटकहरु लोमान्थाङ्का ऐतिहासिकस्थलहरुमा रमाउने गरेका छन्।
मुस्ताङमा तिब्बतको झोङवासेन जिल्लास‘ग सीमा जोडिएको छोसेर, सुर्खाङ् र छोन्हुप गाविसमा समेत ऐतिहासिक गुम्बाहरु पनि रहेका छन्। बौद्धमार्गीहरुको लागि अध्ययन, अनुसन्धान गर्नको लागि उपल्लो मुस्ताङको भ्रमण अति उपयोगी मानिन्छ।
आफ्नो देशको हिमालपारिको जनजीवन, भौगोलिक अवस्था, सांस्कृतिक सम्पदा मुक्तिनाथको दर्शन र लोमान्थाङ क्षेत्रका ऐतिहासिक गुम्बा, प्राचीन मानव बस्तीको गुफा, नूनखानी, दामोदरकुण्ड र प्राकृतिक मनोरम दृश्यलाई शटर नेपालले क्यामरामा कैद गरेका तस्बिरहरु अवलोकन गरौं।

0 comments
प्रतिक्रिया दिनुहोस्...