-->
Loading...
एमाले उपाध्यक्ष रावल भन्छन्–टिकापुर घटनाका दोषीलाई छोड्न हुँदैन

धनगढीः सरकारले टिकापुर घटना लगायत मधेस आन्दोलनका क्रममा मधेसी मोर्चाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने तयारी गरिरहेका बेला नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भने टिकापुर घटनाका दोषीमाथि कारबाही गर्नु पर्ने बताएका छन्।
रावलले टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षकसहित आठजना सुरक्षाकर्मी र एकजना दुघे बालकको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका दोषीहरुको मुद्दा फिर्ता लिन नहुने बताएका हुन्। शनिबारमात्रै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पत्रकार सम्मेलन गरी सरकारले टिकापुर र मधेस आन्दोलनमा मुद्दा चलाएका ३ सय ७४ जनाको मुद्दा दसैंअघि फिर्ता लिने भएको बताएका थिए।
नेकपा एमाले प्रदेश नम्बर ७ स्तरीय बैठकका निर्णयहरु सार्जजनिक गर्न नेकपा एमाले कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा रावलले भने,‘टिकापुरमा घटेको घटना विभत्स र आततायी हत्या हो, त्यो कदापि राजनीतिक होइन, पानी खान भनि सर्वसाधारणको घरमा पसेका सुरक्षाकर्मीलाई लखेटीलखेटी, भाला रोपेर निर्मम तरिकाले हत्या गरिन्छ भने त्यो राजनीतिक घटना हुन सक्दैन।’
उनले टिकापुर घटनाका दोषीलाई छोडियो भने मुलुकमा चरम दण्डहीनता बढ्ने बताए। रावलले सरकारले हत्याको आततायी घटनालाई राजनीतिक जामा पहि¥याएर राज्यलाई दण्डहिनता तर्फ धकेल्न खोजेको आरोप लगाए। उनले भने,‘टिकापुर घटनाका दोषीलाई छोड्यो भने जसले जसलाई मारे पनि भैहाल्यो नी, मान्छे मार्ने अनी राजनीतिक हो भनेर मुद्धा फासफुस गरिदिने ? यो कदापी सह्य हुँदैन।’
टिकापुर घटनामा तत्कालीन सेती अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशब बोहरा, प्रहरी हवल्दार श्याम खड्का, जनक नेगी, प्रहरी जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरी हवल्दार ललित साउद र रामविहारी चौधरी तथा डेढ वर्षका दुधे बालक टेकबहादुर साउदको आन्दोलनकारीले हत्या गरेका थिए।
टिकापुर घटनापछि, कैलाली कारागारमा रहेका २० जनामध्ये फोरमका केन्द्रीय सदस्य लक्ष्मण चौधरीलाई २०७२ माघमा केन्द्रीय कारागार सरुवा गरिएको छ। थारु कल्याणकारिणी सभाका तत्कालीन कैलाली जिल्ला अध्यक्ष लाहुराम थारुसहित १९ जना थारु नेता कार्यकर्ता अहिले पनि कैलाली कारागारमा बन्दी जीवन विताइरहेका छन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.