विराटनगर, २ असोज । स्वास्थ्य मन्त्री गगन थापाले सरकारी अस्पताल आउने कोही पनि बिरामी उपचार पाइनँ भनेर फर्किने अवस्था आफूलाई स्वीकार नहुने बताएका छन्।
संविधानतहः नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार रहेकाले कोही पनि अस्पतालको परिसरभित्र छिरेर उपचार पाइनँ भन्ने कुरा आफूले सुन्न नचाहेको पनि बताए। कोसी अञ्चल अस्पतालको अवलोकनपछि आइतबार थापाले पैसा नपाएर वा छैन भन्ने स्थितिमा अञ्चल अस्पतालको गेटभित्र छिरेको मान्छेले उपचार नपाइ फर्केको अवस्था आउन नहुने बताए।
डाक्टरहरुसँग संक्षिप्त कुराकानी गर्दै थापाले नागरिकलाई न्यूनतम सेवा दिनु राज्यको कर्तव्य र धर्म दुबै भएकाले त्यस किसिमको स्वास्थ्य सेवा आवश्यक रहेको बताए। ‘मैले यो निर्देशन दिएको हैन, म निर्देशन दिँदिनँ पनि, यो राज्यको ड्युटी हो मात्र भनेको हुँ, म पनि यो ड्युटी गरिरहेको छु,’ उनले भने, ‘तपाईंहरुले यो ड्युटीलाई नबिर्सिनुहोस्।’
तर, त्यसो मुखले भनेर मात्र पूरा नहुने भएकले स्रोतसाधन र पद्दतीलाई पनि विकास गर्नुपर्ने बताए। उनले कतिपय अवस्थामा स्रोतसाधन हुँदाहुँदा जनता सरकारी अस्पतालबाट निजीतिर जानुपर्ने गुनासो रहेको भन्दै आफ्नो कार्यकालमा त्यो हुन नदिने बताए।
‘स्रोतसाधन भएन, बाध्यता पर्यो भन्ने कुरामा म जाँदिनँ, तर, यदि पर्याप्त हुँदाहुँदै निजीतिर रेफर गरिएको सुनियो भने चाहिँ त्यो राम्रो हुँदैन, म त्यसो हुन दिन्नँ,’ थापाले भने। बरु स्रोतसाधन नभएको अवस्थामा त्यसलाई पूर्ति गर्न आफू र मन्त्रालय तयार रहको थापाले अवगत गराए।
उनले तोकिएको ठाउँमा नजाने, काजमा बस्ने अवस्था आउन नदिने पनि बताए। उनले केही दिनभित्रै यो समस्या हट्ने बताए।
प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रभावकारी बनाउने सरकारको प्राथमिकता रहेकाले सबै केन्द्रमा डाक्टर पुर्याउने लक्ष्य रहेको उनले बताए। ‘प्रधानमन्त्रीज्यूको पनि चासोको विषय यही छ, स्वास्थ्य केन्द्रलाई बलियो पार्ने,’ उनले भने।

0 comments
प्रतिक्रिया दिनुहोस्...