अवसर
नेपालको फुटबल टोलीसामू भारतलाई उसैको घरेलु मैदानमा हराउने अवसर छ । लामो समय भारतको नाकाबन्दी खेपेका जनता नेपालले भारतलाई उसैको घरेलु मैदानमा हराउँदा निकै खुसी हुनेछन् । नाकाबन्दीपछि नेपालले साफ च्याम्पियनसिप फुटबल र यू–१९ विश्वकप क्रिकेटमा भारतसँग प्रतिस्पर्धा गरेको थियो । दुबै खेलमा नेपाल पराजित भएपछि निराश देखिएका समर्थकहरुमा खुसी फर्काउने अवसर अहिलेको युवा टोलीलाई छ नेपालले ढाकामा बंगबन्धु आमन्त्रण गोल्डकप जित्दा पनि फुटबल समर्थक खुसी थिए । तर, त्यस प्रतियोगितामा भारत सहभागि थिएन । त्यसैले, नेपालको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भारतलाई उसैको घरेलु मैदानमा हराएर दक्षिण एशियाली खेलकुदमा स्वर्ण जित्नुको अर्थ बेग्लै हुन्छ ।
इतिहास
सन् १९९३ मा नेपालले भारतलाई नै हराएर अन्तिम पटक दक्षिण एशियाली खेलकुदमा स्वर्ण जित्दा टोलीको कप्तानी गरेका राजुकाजी शाक्य अहिले नेपालको प्रशिक्षक छन् । उनले भनेका छन् –‘त्यतिबेला हामीले भारतलाई बंगलादेशको ढाकामा हराएका थियौँ । तर आज हामीसामू उसलाई भारतीय भूमिमै हराउने अवसर छ ।’
अन्तिम जीत
केही महिनाअघि काठमाडौँमै सम्पन्न यू–१९ साफ च्याम्पियनसिपमा नेपालको युवा टोलीले फाइनलमा भारतलाई नै हराएर उपाधी जितेको थियो । त्यतिबेला टोलीमा रहेका अनन्त तामाङ, दिनेश राजवंशी, कमल श्रेष्ठ, सुनिल बल, अन्जन विस्ट र विमल घर्तीमगर अहिले दक्षिण एशियाली खेलकुद प्रतियोगिता खेल्ने टोलीमा छन् । नेपालको सिनियर टोलीले भारत विरुद्ध जीत हात नपारेको भने ३ वर्षभन्दा बढी भयो । सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा भारतलाई नेपालले २–१ ले हराएको थियो । भारत विरुद्ध नेपालको राष्ट्रिय टोलीले हासिल गरेको त्यो नै अन्तिम जीत हो । त्यतिबेला अनिल गुरुङ र जुमानू राईले नेपालबाट गोल गरेका थिए । नेपालको सिनियर टोलीले साफ च्याम्पियनसिपमा दुई महिनाअघि भारतलाई उसैको घरेलु मैदानमा हराउने अवसर पाएको थियो । तर नेपाल उक्त खेलमा भारतसँग ४–१ ले पराजित भयो ।
महत्वपूर्ण जीत
नेपालले भारत विरुद्ध हासिल गरेको सबैभन्दा सम्झनलायक जीत भनेको सन् १९९३ को साफ खेलकुदअन्तर्गत फुटबलतर्फको फाइनल हो । त्यतिबेला अतिरिक्त र निर्धारित समयको खेलमा २–२ गोलको बराबरी भएपछि नेपालले टाइब्रेकरमा बाजी मारेको थियो । अहिले नेपालको प्रशिक्षक रहेका राजुकाजी शाक्य त्यतिबेला टोलीका कप्तान थिए । बंगलादेशको ढाकामा भएको छैटौ साफमा नेपालले जितेको त्यो एकमात्रै स्वर्ण थियो । त्यतिबेलासम्म दक्षिण एशियाली खेलकुदमा फुटबलतर्फ पनि सिनियर टोलीले नै प्रतिस्पर्धा गर्दथे । त्यसैले भारतविरुद्धको जीतपछि नेपाल फिफा वरियतामा दक्षिण एशियाली राष्ट्रमध्ये शीर्ष स्थानमा र समग्रमा १ सय २४ औँ स्थान उक्लियो । फिफामा यो नै नेपालको सबैभन्दा राम्रो ¥यांकिङ थियो । आजको खेलमा नेपालले भारतलाई हराएर उपाधी जितेपनि ¥याकिङमा यस्तो फरक भने हुनेछैन् ।
२००४ पछि ओलम्पिक शैलीको टोली
नेपाल सन् १९९९ मा काठमाडौँमैै सम्पन्न दक्षिण एशियाली खेलकुदको आठौ संस्करणमा पनि फुटबलतर्फ फाइनल प्रवेश गर्यो । तर बंगलादेशको कडा रक्षापंक्तीलाइ नेपाली स्ट्राइकरहरुले तोड्न नसक्दा दशरथ रंगशालामा नेपाल १–० गोलले स्तब्ध भयो । सन् २००४ को इस्लामावाद सागदेखी फुटबलतर्फ राष्ट्रिय टोलीहरुले प्रतिस्पर्धा गर्न छाडे । ओलम्पिकमा झैँ युवा टोलीलाई फुटबलमा सहभागि गराइन थालियो । यस प्रतियोगितामा ३ जना २३ वर्षमाथिका खेलाडीले सहभागिता जनाउन पाउँछन् भने बाँकी खेलाडी २३ वर्षमूनिको हुनुपर्छ ।
कसरी २३ वर्षपछिको उपाधी
उपाधीको खडेरी परिरहेका बेला थुप्रैले यस संभावित उपाधिलाई २३ वर्षपछिको उपलब्धिका रुपमा हेरेका छन् । भारतलाई नेपालले हरायो भने सागमा यो नेपालको २३ वर्षपछिको सफलता हुनेछ । सागमा नेपाल १७ वर्षपछि फाइनल प्रवेश गरेको पनि साँचो हो । तर नेपालले उपाधि जितेपनि यसलाई २३ वर्षपछिको अन्तर्राष्ट्रिय उपाधी भने मान्न सकिदैँन ।
– २३ वर्षअघि नेपालले ढाकामा भारतलाई हराउँदासम्म साफ च्याम्पियनसिप सुरु भएको थिएन र दक्षिण एशियाली खेलकुद नै फुटबलका लागि सबैभन्दा ठूलो प्रतियोगिता थियो । त्यसैले प्रतियोगितामा सहभािग हुने सबै देशले राष्ट्रिय टोलीलाइ नै पठाउँथे । नेपालले १९८४ र १९९३ मा दक्षिण एशियाली खेलकुदतर्फ स्वर्ण जित्दा यस क्षेत्रका सबै देशका सिनियर टोलीलाई नै हराएको हो ।
– सन् १९९३ मा नेपालले दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण जितेको केही समयपछि नै यस क्षेत्रमा साउथ एशियन एशोसियसन फर रिजनल को अपरेशन गोल्डकप सुरु भयो । सन् १९९७ देखी यही प्रतियोगितालाई साफ च्याम्पियनसिप भन्न थालियो । सन् १९९९ सम्म दक्षिण एशियाली खेलकुद र साफ च्याम्पियनसिप दुबैमा सिनियर टोलीले प्रतिस्पर्धा गथ्र्ये । तर दक्षिण एशियाली खेलकुदमा सिनियर टोलीलाई उतार्दा साफ च्याम्पियनसिपको महत्व घट्ने भन्दै सन् २००४ बाट यस प्रतियोगितामा युवा टोलीलाई मात्रै उतार्न थालियो । दक्षिण एशियाली खेलकुदमा त्यसपछि यो नियम निरन्तर कायम छ ।
कुन हो आधिकारिक प्रतियोगिता
– नेपालले सहभागिता जनाउने फिफा र एएफसीको आधिकारीक प्रतियोगिता भनेको साफ च्याम्पियनसिप र एएफसी च्यालेन्ज कप हो । नेपालले यसबाहेक एशियन कप र विश्वकपको छनोटमा समेत सहभागिता जनाउँदै आएको छ । तर छनोटमा सहभागि भएपनि नेपालले एशियन कप र विश्वकप खेल्ने अवसर पाएको छैन ।
– नेपालले केही समयअघि बंगलादेशमा नेपालले जितेको बंगबन्धु गोल्डकप आधिकारीक प्रतियोगिता थिएन । श्रीलंका र बंगलादेश विरुद्ध नेपालले उक्त प्रतियोगितामा खेलेका खेलले फिफाबाट मान्यता पाएपनि माल्दिभ्स विरुद्धको सेमिफाइनल र बहराईन विरुद्धको फाइनल खेलले फिफाको आधिकारीकता पाएनन् । त्यस्तो आमन्त्रण प्रतियोगिताको उपाधी नेपालले सन् २००९ मा काठमाडौँमै सम्पन्न प्रधानमन्त्री गोल्डकप फुटबल जितेको थियो ।
– अर्जेन्टिनाको फुटबल टिम र लियोनल मेसीको उदाहरण हेर्ने हो भने फिफा र एएफसीले आयोजना गर्ने सिनियर प्रतियोगिता जितेपछि मात्रै त्यसले अन्तर्राष्ट्रिय फुटबलमा आधिकारीकता पाउँछ भन्ने छर्लङग हुन्छ । मेसीले सन् २००८ को बेइजिंग ओलम्पिकमा अर्जेन्टिनालाई स्वर्ण दिलाएका थिए । तर अझै पनि उनीमाथि अन्तर्राष्ट्रिय उपाधी जित्न नसकेको ट्याग लाग्छ ।
– अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकप र सन् १९९३ पछि कोपा अमेरिका जित्न सकेको छैन् । यसबीच सन् १९९५ र २००३ मा दक्षिण एशियाली प्रतियोगिताभन्दा निकै ठूलो आकारको प्रतियोगिता पान अमेरिकन गेम्समा अर्जेन्टिनाले फुटबलतर्फ स्वर्र्ण जितेको थियो । तर, पान अमेरिकन गेम्स र ओलम्पिकमा अर्जेन्टिनाले जितेको स्वर्णले अन्तर्राष्ट्रिय उपाधीको उपमा भने पाएका छैनन् । अझै पनि अर्जेन्टिनाको सिनियर टोलीका बारेमा टिप्पणी गर्दा यस टोलीले २३ वर्षदेखी अन्तर्राष्ट्रिय उपाधी जित्न सकेको छैन भनिन्छ किनकी दुबै प्रतियोगितामा २३ वर्षमाथिका ३ खेलाडीले मात्रै प्रतिस्पर्धा गरेका थिए ।
(रातोपाटीबाट )
0 comments
प्रतिक्रिया दिनुहोस्...