-->
Loading...
सरकारसँग राउटे मुखियाका ‘अनौठा’माग, यस्तो छ

काठमाडौं, फागुन ३ । १ देखि १५ फागुनसम्म ह्ने कुलपूजाका लागि खसीको जोहो गर्न काठमाडौं आएका राउटेहरूले तीन लाख ४० हजार नगद बोकेर जंगल फर्किएका छन् ।
२७ माघमा काठमाडौं आइपुगेका राउटेका तीन मुखिया सूर्यनारायण शाही, वीरबहादुर शाही र डिल्लीबहादुर शाही पाँच दिनपछि आइतबार जंगल फर्किएका हुन् । काठमाडौंमा उनीहरूले राष्ट्रपति,
उपराष्ट्रपति, प्रधानमन्त्री, एमाओवादी अध्यक्ष प्रचण्ड, गृहमन्त्री र वनमन्त्रीलाई भेटे ।
२७ माघ:कांग्रेस सभापति कोइरालालाई श्रद्धाञ्जली– अछामबाट २६ माघमा नाइट बसमा यात्रा सुरु गरेका राउटेका तीन मुखिया २७ गते बिहान काठमाडौं आइपुगे ।
उनीहरू बानेश्वरको एक होटेलमा बसे । खाना खाए । कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा राखिएको थियो । १२:३५ बजे राउटेहरू कोइरालालाई श्रद्धाञ्जली दिन रंगशाला पुगे । पार्थिव शरीरलाई एक फन्को लगाएर श्रद्धाञ्जली दिए ।
उनीहरूले कोइरालाको निधनमा दु:ख व्यक्त गरे । ‘हामीलाई चार लाख दिएका थिए, तर मर्नुभएछ, नबितेको भए हुन्थ्यो, बित्नुभयो त भयो के गर्ने,’ पत्रकारलाई राउटे मुखियाले जवाफ दिए । पाँच मिनेट रंगशालामा रहेका उनीहरू होटेल फर्किएर आराम गरे ।
२८ माघः होटलको खाना र बसाई मन परेन– राउटेहरूलाई होटेल बसाइ मन परेन । खाना पनि मन परेन । उनीहरू राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीको डेरामा सरे ।
अधिकारीलाई राउटेहरू भान्जी भन्छन् । उनीहरूलाई काठमाडौं बसुन्जेल अधिकारीकै डेरामा बस्ने र खाने व्यवस्था भयो । उनीहरू ब्रोइलर कुखुराका मासु खाँदैनन्, खसीको मासु खाए ।
खसी किन्ने पैसा जोहो गरी फर्किए राउटे– २८ माघको बिहान १०:३० बजे उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई भेट्न उपराष्ट्रपति कार्यालय, बहादुरभवन पुगे ।
‘‘हाम्रो पेट भोको छ, हाम्रो जनताको पेट भोको छ,’ सूर्यनारायण शाहीले उपराष्ट्रपतिसँग भने, ‘हामी यता आइसकेपछि जनताले आशा गरेको छ, केही पनि नलिएर गएपछि जनताले हामीलाई मार्छ, जनता र कुलदेउतालाई खुसी बनाउनुपर्छ हामीले ।’
राउटेहरूले उपराष्ट्रपतिसँग खसी मागे । खसीको संख्या किटान गरेनन् । उपराष्ट्रपतिले खसी किन्नलाई आफ्नो तलबको रकम भन्दै ३० हजार दिए ।
सभामुखको २० हजार– उपराष्ट्रपतिलाई भेटेपछि अपराह्न २ बजे सभामुख ओनसरी घर्तीलाई भेट्न राउटेहरू संसद् सचिवालयमा पुगे । सभामुखसँग पनि राउटेहरूले कुलपूजाका प्रसंग निकाले र खसी मागे ।
सभामुखले खसी किन्न सहयोग गर्न बचन दिइन् । राउटेहरूको अधिकार संविधानमै सुनिश्चित गर्ने प्रयत्न गर्ने बताइन् । र, आइतबार राउटेलाई खसी किन्न आफ्नो तलबबाट २० हजार रुपैयाँ सहयोग गरिन् । वनमन्त्रीसँग भने ‘कुकाठ काट्न पाऊँ’ राउटेहरू अपराह्न ३ बजे वन मन्त्रालयमा पुगेर वनमन्त्री अग्निप्रसाद सापकोटालाई भेटे ।
‘हामीलाई कुकाठ काट्न दिनुपर्यो, हामी राम्रो काठ काट्दैनौं, राउटे मुखियाले भने । वनमन्त्री सापकोटाले राउटेको अधिकारका लागि आफूले सहयोग गर्ने बताए ।
२९ माघः राष्ट्रपतिसँग २२ वटा खसी माग– बिहान सवा १० बजे राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न राउटे अगुवाहरू शीतलनिवास पुगे । राष्ट्रपतिले राउटेहरूलाई स्वागत गरिन् ।
राउटेहरूले कुलपूजाका लागि खसी माग्न काठमाडौं आएको बताए । र, राष्ट्रपतिसँग २२ वटा खसी र चामल चाहियो भने । राष्ट्रपतिले ‘जहाँबाट पायक पर्छ, त्यहीँबाट चामल र खसी लिने व्यवस्था मिलाइदिन्छु’ भनिन् । र, राउटेहरू शीतल निवासबाट फर्किए ।
प्रधानमन्त्रीले दिए तीन लाख– अपराह्न १२ बजे प्रधानमन्त्रीलाई भेट्न राउटेहरू प्रधानमन्त्री निवास बालुवाटार पुगे । ‘पाइन्ट, सर्ट लगाउनुपर्छ, म किनिदिन्छु लाउनुहुन्छ ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले लगाएको कपडातिर संकेत गर्दै राउटेलाई सोधे । ‘बरु हामी यस्तै मर्ने हो, त्यो पाइन्ट लाउने होइन,’ राउटेले जवाफ दिए ।
राउटेले सर्ट पाइन्ट नलगाउने भएपछि उनीहरूले लगाउँदै आएको जस्तै कपडा किन्न ओलीले आफ्ना स्वकीय सचिवलाई पठाए । स्वकीय सचिवले न्युरोड गएर कपडा किनेर ल्याइदिए । प्रधानमन्त्रीसँग राउटेहरूले कुलपूजाका लागि खसी र चामल माग्न आएको बताए ।
‘आज शुक्रबार भइसक्यो, भोलि शनिबार भयो, आइतबार आउनु म खसी किन्ने व्यवस्था गरिदिन्छु’ भनेर ओलीले राउटेहरूलाई बिदाइ गरे । आइतबार प्रधानमन्त्री निवासमा बोलाएर राउटे मुखिया वीरबहादुर शाहीलाई प्रधानमन्त्रीका सहयोगीले तीन लाख नगद दिए, ‘खसी किन्नु’ भन्दै ।
१ फागुनः खसी पाल्न प्रचण्डको सुझाब–
एमाओवादी अध्यक्ष प्रचण्ड जनयुद्ध दिवस मनाउने तयारीमा थिए । बिहान ८ बजे राउटे मुखियाहरू खसी माग्न प्रचण्ड निवासमा पुगे । उनीहरूले पाँचवटा खसी मागे ।
र, राउटेहरूको मासिक भत्ता ५ हजार पुर्याउन आग्रह गरे । आफ्नो जनता भोको भएको बताए । ‘हाम्रो जनता भोको छ, भोकै मरे भने हामीलाई पाप लाग्छ,’ वीरबहादुर शाहीले भने ।
प्रचण्डले खसी माग्ने भन्दा बाख्रा पालन गर्न आग्रह गरे । ‘सरकारले व्यवस्था गरिदिन्छ, बाख्रा पाल्नुस्, बोका जन्माउँछ र खसी बनाएर मासु खाने, छोराछोरी स्कुल पठाउनुस्, खसी किन्नका लागि म प्रधानमन्त्रीलाई भनिदिउँला,’ प्रचण्डले यति के भनेका थिए, सूर्यनारायण शाहीले जवाफ फर्काए, ‘मन्त्रीजी, सरकारले दिएको बाख्रा बिख खाएर मर्यो भने त्यसको जिम्मेवार को हुने ?’
चिडियाखानामा बाँदर नियाले– प्रचण्डलाई भेटेपछि खाना खाएका राउटेहरूलाई मन लाग्यो चिडियाखाना घुम्न । अपराह्न १ बजे जावलाखेलस्थित चिडियाखाना पुगे ।
विभिन्न जीवजन्तुहरू हेरे । बाँदर धेरैबेर हेरे । साथमै रहेका अभिनेता नवल खड्काले सोधे, ‘खाऊँखाऊँ लाग्यो क्या हो ?’ राउटेले जवाफ दिएनन्, मात्र फिस्स हाँसे ।
२ फागुनः जहाज चढ्न मानेनन्, गाडी चढेरै फर्किए जंगल– अपराह्न १ बजे एमाओवादी नेता कृष्ण केसीले सुरु गरेको पर्यटन विकासको अभियानको उद्घाटनमा भाग लिन राउटे मुखियाहरू पर्यटन बोर्ड पुगे ।
तीनैजना राउटे मुखियालाई कार्यक्रमको सभापति बनाइयो । कार्यक्रमका प्रमुख अतिथि थिए, एमाओवादी अध्यक्ष प्रचण्ड । त्यही वेला प्रधानमन्त्रीको निवासबाट खबर आयो, खसी किन्ने पैसा लिन आउनुस् ।
वीरबहादुर शाही प्रधानमन्त्री निवास पुगे, त्यहाँबाट खसी किन्नलाई दिइएको तीन लाख रुपैयाँ लिएर उनी पुनस् पर्यटन बोर्डमा फर्किए । काठमाडौंमा राउटेहरूलाई भेट्घाटमा सघाएका अभिनेता नवल खड्का, राउटे प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले आग्रह गरे, ‘जहाजमा जानुस् ।’
तर राउटेहरू मानेनन् । ‘हामीलाई डर लाग्छ गाडीमै जान्छौँ’, उनीहरूले जवाफ दिए । र, अपराह्न ३ बजे रात्रिबसमा चढेर राउटेहरू जंगल फर्किए । फर्किनुअघि नवल खड्कालाई राउटेहरूले आफ्ना सद्भावदूत घोषणा गरे । मनोज घर्तीमगर, नयाँ पत्रिका


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.