सरकारले उत्तरी नाका कोरला खोल्ने तयारी तीव्र बनाएको छ । नाका खोल्ने पूर्वतयारीस्वरूप लोमान्थाङमा सैनिक ब्यारेक, प्रहरी, सशस्त्र प्रहरी, भन्सार र अध्यागमन कार्यालयका लागि जग्गा छनोट गरिएको छ । नाकाको सुरक्षार्थ नेपाली सेनासमेत तैनाथ हुने भएको छ ।
यो नाका खोल्ने पूर्वतयारीका रूपमा स्थानीय प्रशासनले काम थालेको र पहिल्यै भएका कार्यालयमा जनशक्ति थप्ने योजनाअनुरूप जग्गा नापजाँच गरिएको प्रजिअ गणेश अधिकारीले बताए । ‘अब दोब्बर संख्यामा प्रहरी र भन्सारका कर्मचारीसमेत थपिने छन्,’ उनले भने ।
नाका सुरक्षार्थ लोमान्थाङमा ब्यारेक राख्नका लागि पनि उपयुक्त जग्गा छनोट गरी नापी र नक्सांकनको काम गरिएको छ ।
ब्यारेक राख्न जग्गाको नक्सांकनका लागि नापी कार्यालयका कर्मचारीसहित जिल्ला सुरक्षा समितिका संयोजक प्रजिअ सहितको टोली लिएर सेना गत साता कोरला आएको थियो । लोमान्थाङको समथर सरकारी १ हजार रोपनी जग्गाको गत बुधबारदेखि शुक्रबारसम्म नक्सांकन गरिएको हो । नापी कार्यालयले तयार गरेको जग्गाको नक्सा भीमदल गण जोमसोम र जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको छ ।
यसैका आधारमा रक्षा र गृह मन्त्रालयले जग्गा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि यहाँ नाकापारि चिनियाँ सेना देखिए पनि नेपालतर्फ सेनाको गतिविधि थिएन ।
सेना बस्ने ब्यारेक कोरला नाकाभन्दा ३० किलोमिटर वर लोमान्थाङमा पर्छ । यो उपल्लो मुस्ताङको प्रमुख व्यापारिक केन्द्र पनि हो । चीन सरकारले आफ्ना सेनालाई कोरला नाकाभन्दा केही पर मात्र राखेको छ । सीमानाका गतिविधिबारे जानकारी लिन चीनले आफ्नोतर्फको भूभागमा सीसी क्यामेरासमेत जडान गरेको छ । चीनको उपस्थिति सिमानामा भएकाले नेपालका तर्फबाट पनि ब्यारेक राख्न धेरै पटक माग उठेको थियो । सिमानामा नेपालको सुरक्षा अंगको उपस्थिति शून्य हुँदा कोरला नाकामा नेपालीको चहलपहल खासै हुन सकेको थिएन ।
‘सेना बसेपछि बल्ल नेपालको उपस्थिति झल्किने छ,’ यहाँका छेवाङ गुरुङले भने, ‘हाम्रो सुरक्षाकर्मी बसेपछि चहलपहल बढ्ने छ ।’ ब्यारेक नै यहीं रहेपछि स्थानीयलाई ढुक्क हुने उनले बताए । हुन त लोमान्थाङ र छोसेर गाविसमा इलाका प्रहरी कार्यालय छ । तर, यी कार्यालयलाई आन्तरिक सुरक्षा मामिला मात्र हेर्ने अधिकार छ । सेना बसेपछि सिमानाको सुरक्षा मात्र ्नभई यहाँको नाकामा नेपालीको आउजाउलाई सहज बनाइदिने स्थानीयले विश्वास गरेका छन् ।
यहाँ हाल एक गुल्मबराबरको संख्यामा सेना रहनेछन् । सैनिक स्रोतका अनुसार कानुनी प्रक्रियासँगै ब्यारेकको संरचना निर्माण हुँदै जानेछ । जाडो कम हुनेबित्तिकै तारबार, भवन निर्माण, बगैंचालगायत संरचना बनाइने सैनिक स्रोतले बताएको छ । ‘सुरक्षाका दृष्टिकोणले उपल्लो मुस्ताङमा सेनाको उपस्थिति आवश्यक भएकाले ब्यारेक राख्ने पहल भएको हो,’ प्रजिअ अधिकारीले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम नै ब्यारेक बस्ने छ ।’
पोखरादेखि कोरलासम्मको सडक खुलिसकेको हुनाले चीनतर्फको सिमानामा सेनाको उपस्थिति आवश्यक भएकाले ब्यारेक राख्न लागिएको जानकारी उनले दिए । सेनाले स्थानीयसँग हातेमालो गर्न उपल्लो मुस्ताङमा सडक निर्माणदेखि अन्य विकासका काम गर्ने योजना अघि सारेको छ । मरुभूमिजस्तो भिरालो जमिनलाई सम्याएर स्याउ रोप्ने कार्यक्रम पनि ल्याउने भीमदल गण स्रोतले जनाएको छ । ब्यारेक निर्माणदेखि आन्तरिक व्यवस्थापनको खर्चका लागि सैन्य मुख्यालयमा सबै प्रतिवेदन पेस भइसकेको स्रोतको भनाइ छ ।
त्यस्तै, कोरला नजिकै नेचुङमा सशस्त्र प्रहरीका लागि ३० रोपनी, भन्सार कार्यालयका लागि १ सय, अध्यागमन कार्यालयका लागि १०, इलाका प्रहरी कार्यालयका लागि १० रोपनी नापजाँच गरिएको छ । ‘हामीले नाका छिटो खोल्नुपर्छ भनेर सबै तयारी गरेर केन्द्रमा पठाइसक्यौं,’ प्रजिअ अधिकारीले भने, ‘खुलाउने जिम्मा सरकारको ।’ स्थानीयले नेचुङदेखि कोरलासम्मको सडक कालोपत्रे बनाउन रकम विनियोजन गरेर भौतिक सहयोग गर्ने बताएका छन् ।
सशस्त्र प्रहरी र अध्यागमन कार्यालय रहने स्थानबाट कोरलासम्म यो सडक १२ किमि लामो छ । ‘सरकारले अलिअलि पैसा दिओस्, हामी सडक फराकिलो बनाउन तयार छौं,’ स्थानीय समाजसेवी राजु गुरुङले भने, ‘तर जसरी पनि यो नाका खुलाउनु पर्यो ।’
कोरला नाकाछेउ नेपाली सेनाले राख्न लागेको ब्यारेकका लागि जग्गा छनोट गरिँदै । तस्बिर : विनोद/कान्तिपुर
0 comments
प्रतिक्रिया दिनुहोस्...