३ फागुन, काठमाडौं । भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको छ ।
सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालले २३ वर्षपछि साग फुटबलमा उपाधि जितेको हो ।
यसअघि १९८४ र १९९३ मा स्वर्ण जितेको थियो । १९९९ को फाइनल पुगेर पनि हारेको नेपाल त्यसयता भने फुटबलमा पदक जित्न सकेको थिएन ।
सोमबार खेलमा भारतले पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ३१ औं मिनेटमा आदित्य चौधरीले विपक्षी खेलाडीलाई फल गरेपछि भारतले पेनाल्टी पाएको थियो ।
पहिलो हाफमा भारतले नेपालमाथि लगातार दबाब समेत दिएको थियो । तर, दोस्रो हाफमा नेपाल आफ्नो लयमा फर्कियो । ६५ औं मिनेटमा प्रकाश बुढाथोकीले फि्र किकमार्फत उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
लगतै विमल घर्तिमगर वान भर्सेज वानमा चुके भने बोउन्स भएको बलमा नेपालले गरेको प्रहार भारतीय खेलाडीले गोललाइनबाट बचाए ।
खेलको ७१ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र नेपाल भारतलाई २-१ ले हराउँदै २३ वर्षपछि साग फुटबलमा स्वर्ण जित्न सफल भएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...