स्वास्थ्य खबर हेल्थ अवार्ड २०७३ बाट नर्स सिर्जना श्रेष्ठ सम्मानित भएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापाले उनलाई अवार्ड प्रदान गरे ।
तेह्रथुमको हमरजुङ इलाका स्वास्थ्य चौकी त्यस भेगका ६ गाविसका सर्वसाधारणलाई लक्ष्य गरी बनाइएको थियो । तर यसको सेवा क्षेत्र यतिमा मात्रै सीमित छैन । ताप्लेजुङको सिमाना नजिकै भएकाले त्यताबाट पनि बिरामी आउँछन् । सर्वसाधारणमाझ अस्पतालकै परिचय छ । त्यसैले अन्य स्वास्थ्य चौकीबाट रिफर भएर पनि यहाँ आइपुग्छन् । किनभने यो स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीको लगावले त्यस्तै महसुस गराएको छ ।
गाडी चढेर यहाँसम्म पुग्न सदरमुकामबाट तीन घन्टा लाग्छ । यही नै अनमीको दरबन्दीमा कार्यरत छिन् नर्स सिर्जना श्रेष्ठ । उनले नर्सिङ सेवाबाट धेरै लाभान्वित भएका छन् । स्टाफ नर्स पास गरेर लोकसेवाबाट अनमीको दरबन्दी पास गरेकी हुन् उनले । त्यसैले अनमीको तलबमा नर्सको सेवा दिइरहेकी छिन् । आफ्नो दर्जाभन्दा बढीको ज्ञानसीप भएकैले उनले सेवा क्षेत्रमा आफूलाई अब्बल ठह¥याइसकेकी छन् ।
प्रशस्त चेतनाको बिस्तार नहुँदा अझै घरमै सुत्केरी हुने प्रचलन कायम छ गाउँमा । उनले स्वास्थ्य संस्था पुगेपछि सहज र सुरक्षित हुन्छ भन्ने सन्देश फैलाउन सफल भएकी छिन् । भन्छिन्, ‘सम्पूर्ण टिमका कारण गर्भवती भएपछि चेकजाँच गराउन आउने र स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ भन्ने बढेका छन् ।’
तर पनि सबैतिर अझै ज्ञान फैलिसकेको छैन । त्यसैले घरमै सुत्केरी हुन खोज्दा अवस्था गम्भीर भएपछि स्वास्थ्य संस्था आउनेको पनि कमी छैन । यस्तो जटिल अवस्थामा पनि आमा र शिशुको ज्यान जोगाउन उनले भरपुर मेहनत गरेकी छिन् । आफूले नसक्ने बिरामीलाई समयमै सही अस्पतालमा रिफर गरेर ज्यान जोखिममा पर्नबाट रोकेकी छिन् ।
उनले सेवा थालेको जम्मा दुई वर्ष भयो । यो अवधिमा थुप्रै बिरामीलाई उपचार दिइन् र त्योभन्दा बढीलाई स्वास्थ्य शिक्षा । तर जोखिममा परेर आएका ५९ महिलाको सुरक्षित प्रसूति गराउन पाउँदा उनी खुशी छिन् । भन्छिन्, ‘धेरै केश जोखिमपूर्ण थिए । सबैको सहयोगमा ह्यान्डिल गर्न सकियो ।’
२०७१ मंसिर ८ गते तेह्रथुमको हमरजुङ स्वास्थ्य चौकीमा नियुक्ति लिएकी हुन् उनले । उनको घर मोरङको केराबारी–१ मा हो । स्वास्थ्य चौकीकै क्वार्टरमा बस्ने भएकाले उनको ड्युटी २४ सै घन्टा हुन्छ भने पनि हुन्छ । किनभने नजिक भएकाले गाह्रो अप्ठ्यारोमा उनी बिरामीको सेवामा हाजिर भइहाल्छिन् ।
दमकको आम्दा इन्स्टिच्युट अफ हेल्थ साइन्सबाट २०७० सालमा पहिलो श्रेणीमा नर्सिङ पास गरेकी थिइन् । एसएलसी गरिसक्दा पनि उनले नर्सिङबारे खासै बुझेकी थिइनन् साथीहरूको लहैलहैमा लागेर नर्स पढ्ने योजना बनाएकी थिइन् । पूर्व भारतीय सैनिककी छोरी हुन् उनी । उनले उच्च शिक्षा पढ्न जुन विषय रोजेपनि सहयोग गर्न परिवारले कुनै कसुर बाँकी राखेन । त्यसैले नर्सिङ पढ्ने अनुमति पाउन मुस्किल परेन ।
अहिले आएर उनलाई सही विषय छनोट गरिएछ भन्ने लागेको छ । उनी भन्छिन्, ‘पहिले मर्म नबुझी पढियो । अहिले सही ठाउँमा पुगियो भन्ने लाग्दैछ ।’ सेवाको दुई वर्ष बिताउँदा नर्सिङका धेरै गुण–अवगुण महसुस गरिसकिन् । सेवाको भावना मनमा राख्ने हो भने अवगुणभन्दा धेरै गुण नै रहेको उनलाई लागेको छ ।
दुर्गममा दरबन्दी भएर पनि स्वास्थ्यकर्मी नियमित नबस्ने कुराले उनलाई निकै चित्त दुख्ने रहेछ । त्यसैले उनी यो दुई वर्षमा निकै कम मात्रै बिदामा बसेकी छिन् । ‘स्वास्थ्यकर्मी नहुँदा यहाँका बासिन्दाले भोग्दै आएको पीडाबोध भएपछि म सक्दो कम बिदामा बस्ने खोज्छु,’ उनले भनिन् । कति समय त उनी स्वास्थ्य चौकीमा एक्लै पर्छिन् ।
स्वास्थ्य चौकीमा इमर्जेन्सी र प्रसूतिका बिरामीको चाप हुँदा उनले कति रात आँखा झिमिक्क गर्न नपाइ बिताएकी छिन् । उनले यो पेशामा जोखिम पनि उत्तिकै रहेको बताइन् । भनिन्, ‘सुरुमा काम गर्दा यो पेशा त्यति कठिन होला जस्तो लागेको थिएन । तर काम गदै जाँदा आउने जस–अपजसले जोखिम पनि उत्तिकै रहेको महसुस गराएको छ ।’
यो पेशा मानवीय सम्बन्धसँग गाँसिएकाले पनि अन्यभन्दा फरक जस्तो लाग्छ उनलाई । ‘बिरामीको उपचार गर्दागर्दै उनीहरूसित भावनात्मक सम्बन्ध बन्दो रहेछ,’ उनी भन्छिन्, ‘उनीहरू पनि आफ्नै जस्तो लाग्न थाल्छन् र दिनरात खट्ने ऊर्जा पलाउँछ । उपचार गर्दै जाँदा कति बिरामीहरूले नाता जोड्छन्, छोरी, बहिनी भनेर बोलाउँछन् ।’
यिनै भावनात्मक सम्बन्धले कहिलेकाहीँ खुशी दिन्छ भने कहिले दुःखी बनाउँछ । ‘निको भएर जाँदा खुशी भइन्छ, रोग बल्झिँदै गएको देख्दा पीर लाग्छ,’ उनी भन्छिन् ।
आफूले सकेजति इमान्दारिपूर्वक काम गरेकी छिन् उनले । ‘कहिलेकाहीँ बिरामीको सेवा गर्दागर्दै आफैँ बिरामी परेको पनि उनलाई पछिमात्र थाहा हुन्छ । बिरामीले खाना, औषधि खाए–नखाएको हेर्दाहेर्दै आफै कतिघण्टादेखि भोकै बसिरहेको हुन्छु,’ उनले भनिन्, ‘हाम्रो पेशाको सुखदुःख यही हो ।’ सेवा गर्ने बानी लागेपछि आफूलाई पनि भुल्न सकिँदोरहेछ भन्ने धेरैपल्ट महसुस गरिसकेकी छिन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...