अर्जेन्टिनाका लिओनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो बीच उत्कृष्टताको विवाद नयाँ होइन। जतिबेला देखि यी दुई स्टार व्यवसायिक फुटबलमा समावेश भए उनीहरू बीच उत्कृष्टताको विवाद गहिरो बन्दै गइरहेको छ।
बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेसीले रोनाल्डोभन्दा बढि बालोन डि’ओरको उपाधि जितेका छन्। यस्तै, क्लब फुटबलमा पनि रोनाल्डोभन्दा बढि ट्रफी उनको नाममा छ। तर, रोनाल्डो अहिले उत्कृष्ट लयमा छन्। उनले यो वर्ष रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि र देशलाई युरो–२०१६ जिताउन महत्वपूर्ण योगदान गरेका थिए। रोनाल्डोलाई आगामी वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट रोक्न लगभग असम्भव छ।
यस्तोमा विश्व फुटबलका महान खेलाडी पेले यी दुईमध्ये को उत्कृष्ट? भन्ने विवादमा समावेश भएका छन्। र, उनले रोनाल्डोको तुलनामा मेसीलाई उत्कृष्ट ठहर गरेका छन्।
हिपको सल्यक्रियापछि ब्राजिलमा आराम गरिरहेका पेलेले भने–‘क्रिस्टियानो रोनाल्डो उत्कृष्ट गोलकर्ता हुन्। तर, मेसी राम्रो खेलाडी।’ उनले विगत १०–१५ को अवधिमा उत्कृष्ट खेलाडीको सूचीमा थुप्रै खेलाडी परेको तर त्यसमा लगातार राम्रो खेलिरहेको खेलाडी मेसी भएको बताए। ‘कुनै दुविधा बिना भन्नु पर्दा मेसीको खेलमा सधै एकरुपता देखिन्छ,’ पेलेले भने। उनले मेसी समग्र रुपमा पूर्ण खेलाडी भएको बताए।

0 comments
प्रतिक्रिया दिनुहोस्...