काठमाडौं । नेपाली समुदायको सबैभन्दा ठूलो चाड दसैँ सुरु भइसकेको छ । यो समयमा हरेकका घरमा मासुका विभिन्न परिकारका साथै अन्य मिष्ठान्न भोजन तयार हुन्छन् । दसैँमा प्रोटिनयुक्त खानेकुरा बढी खाने, फुर्सदको समय बढी हुँदा आराम गरिने हुन्छ । यही कारणले खानेकुरा अपच भएर बिरामी पनि हुने गरेको पाइने गरेको छ ।
खानपिनकै कारण दसैं दशा बनेका कतिपय उदाहरणहरू पनि छन् । चाडबाडलाई नेपालीहरू चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउँछन् । तर, यस्ता परिकार मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्ने गर्दछ । यस्ता खानेकुरा सँगै हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रूपमा खानुपर्छ । बढी चिल्लो, अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ, आफूले पचाउन सक्ने अवस्था हेरेर मात्र खानेकुरा खानुपर्छ ।
चाडबाडमा मसलेदार परिकारलाई पनि प्राथमिकता दिइन्छ । त्यस्ता परिकार घरमै तयार गरिएको ताजा जिरा, धनियाँ, लसुन, प्याजलगायतका मसला बनाइएको छ भने त्यसले त्यति असर गर्दैन । बजारमा पाइने रेडिमेट मसलाहरूको शुद्धतामा ग्यारेन्टी गर्न सकिँदैन । त्यसैले त्यस्ता मसलाले शरीरमा मन्द विषको काम गर्न सक्छन् । घरमै तयार गरेको मसला खानु राम्रो मानिन्छ ।चिल्लो, अमिलो, पिरो खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुनेलगायतका समस्या हुन्छ । त्यसका साथै कोलेस्ट्रोल बढाउने बोसोको मात्रा बढी हुन्छ जसका कारण अपच हुने, कब्जियत, फुड पोइजनजस्ता समस्या देखा पर्छन् ।
कति मासु खाने
एउटा जवान मान्छेले एक दिनमा २ सय ५० ग्रामसम्म मासु खानु राम्रो हुन्छ । विश्व स्वास्थ्य संगठनले १ केजी तौल भएको मानिसलाई १ ग्राम प्रोटिन आवश्यक हुन्छ भनेको छ । २ सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखि ५५ ग्रामसम्म प्रोटिन हुन्छ । दैनिक त्यति मासु खाँदा फाइदाजनक नै हुन्छ ।
मधुमेह, उच्च रक्तचाप, किड्नीमा समस्या भएका र कोलेस्ट्रोल बढी भएका बिरामीले बोसो नभएको मासुलाई उसिनेर मात्र खानुपर्छ । उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खाँदा राम्रो र स्वादिष्ट हुन्छ । स्वस्थ मानिसले पचाउन सक्ने कवाफ बनाएर खाँदा रामै्र हुन्छ । तर, उच्च रक्तचापका बिरामी, किड्नीमा समस्या भएका र मधुमेहका रोगीहरूलाई भने त्यसले असर गर्छ । मासुमा धेरै बोसो हुने हुँदा त्यसले कोलेस्ट्रोल बढाएर अपच हुने तथा फुड पोइजन पनि हुन सक्छ ।
मासुलगायत दसैँमा प्रोटिनयुक्त खानेकुरा धेरै खाइने हुँदा मोटोपन बढ्ने, ग्यास्ट्रिक बढ्ने समस्या हुनु सामान्य हो । त्यसका लागि दैनिक व्यायाम गर्ने, नियमित रूपमा कम्तीमा ४५ मिनेटदेखि एक घन्टासम्म हिँड्ने गरेमा खाना पचाउन सहयोग पुग्छ । ग्यास्ट्रिक कम गर्नका लागि उसिनेको र रसयुक्त मासु खानु राम्रो हुन्छ । त्यसका साथै बढी खानाले असहज महसुस भए कागती पानी खाने, ज्वानोको झोल बनाएर खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ ।
फुड पोइजनको सम्भावना
फुड पोइजनको मुख्य कारण दूषित पानी हो । त्यसैले पानी उमालेर मात्र पिउनुपर्छ । त्यसका साथै चाडबाड भनेर जे पायो त्यही खाने प्रचलन पनि हटाउनुपर्छ । त्यस्ता परिकारले शरीरलाई राम्रो गर्दैन । कतिपयमा काँचो मासु नै खाने बानी हुन्छ । त्यस्तो मासु सेवनले फुड पोइजनको सम्भावना बढी हुन्छ । त्यस्तो मासु खान मन परे उसिनेर खाँदा राम्रो मानिन्छ ।
त्यसका साथै बासी मासु खायो तथा अन्य परिकारले पनि फुड पोइजनको सम्भावना बढी हुन्छ । ताजा मासु खानु सबैभन्दा उपयुक्त हुन्छ । बासी मासु खाइन्छ भने अलिकति बढी तेल र मसलामा मासु राखेर मासुमा भएको पानी सुकाउने गर्नुपर्छ । त्यसलाई पातलो कपडाले छोपेर नगुम्सिने गरी सुरक्षित साथ राखेर खानुपर्छ । नया पत्रिकाबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...