काठमाडौँ, १७ असोज । चाडबाडको मौका छोपेर उपत्यकामै यातायात मजदुरले यात्रुमाथि ठगी सुरु गरेको गुनासो बढ्न थालेको छ । दसैँ लाग्यो भन्दै यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने, विद्यार्थीलाई राज्यले दिएको सहुलियत नदिने, तोकिएको रुटमा सवारी नचलाउनेजस्ता अनियमितता बढ्न थालेको यात्रुले बताएका छन् ।
घटस्थापनापछि बजारमा किनमेलका लागि सवारी पाउन नसकिने र पाइए पनि चढ्न नसकिने कलङ्कीबाट दसैँका सामान लिन भृकुटीमण्डप बजारमा आउनुभएका रामसुन्दर श्रेष्ठले बताए ।
“तीन किमीको दूरीमा पनि सवारी पाउन मुस्किल छ, बल्लबल्ल आउने सवारी पनि भीडले चढ्न नसकिने हुन्छ, छोटो दूरीको यो रुटमा यसअघि पनि तोकिएभन्दा बढी अर्थात् रु १५ भाडा लिन्थे, अहिले दसैँ सुरु भयो भन्दै रु २० लिन थालेछन्”– उनले भने ।
जोरपाटी–रत्नपार्क रुटमा चल्ने बा२ख ७१९८ नंको सिटी यातायातको यात्रुवाहक बसले बौद्धदेखि रत्नपार्कसम्म रु ३० भाडा असुलेको पीडित यात्रु अनिता बस्नेतले दुखेसो पोख्नुभयो । विभागले यो रुटमा रु १८ भाडा तोकेको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारी उपत्यकामा चल्ने ठूला सवारी लामो दूरीमा चलेकाले केही कम सवारी सडकमा गुडेको स्वीकार्नुहुन्छ । “सवारी कम भएपछि दसैँ सुरु भएको बहानामा बढी भाडा लिएका छन् भने ट्राफिक प्रहरीको १०३ नंमा फोन गरेर जानकारी गराए रु पाँच हजारसम्म कारबाही हुन्छ, विभागले तोकेभन्दा रु एकमात्र बढी भाडा लिए पनि रु पाँच हजार जरिवाना तिर्नुपर्छ”– उनले भने।
रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...