-->
Loading...
प्रचण्डको काम चित्त नबुझेको भन्दै काङ्ग्रेस वरिष्ठ नेताले देउवालाई दिए दबाब

असोज १५, २०७३- कांग्रेसका एक वरिष्ठ नेताले नै सरकारमा माओवादी केन्द्रको व्यवहार चित्त नबुझेको बताएका छन् ।
संयुक्त सरकार गठनको दुई महिना नबित्दै कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकार सञ्चालनलगायतका विषयमा छलफल गर्न अविलम्ब केन्द्रीय समितिको बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग माग गरे । ‘हामीले सरकार परिवर्तन गर्यौ, सरकारमा कांग्रेस ठूलो पार्टी भए पनि मुख्य पार्टी माओवादीजस्तो देखा परेको छ,’ काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने, ‘कार्यकर्ताले चित्त बुझाएर बस्न सकेका छैनन् ।’
सिंहले पार्टीभित्र वार्तामा बस्नेहरुले मात्रै राम्रो–राम्रो पद लिने प्रवृत्ति बढेको भन्दै यसले पार्टीलाई कमजोर बनाउने बताए ।
महाधिवेशन सकिएको दुई महिनाभित्रै पदाधिकारीलाई पूर्णता दिनुपर्नेमा सभापति देउवाले बेवास्ता गरेको उनको आरोप छ । ‘सुशील कोइरालाले त दुई महिनामै उपसभापति र महामन्त्रीको प्रस्ताव गर्नुभएको थियो, चयन हुन पो समय लाग्यो,’ उनले भने, ‘अहिले महाधिवेशन भएको ६ महिना भयो, सभापतिले ध्यान दिनुभएको छैन ।’
सिंहले पार्टी कहिले संस्थागतरुपमा चल्छ भन्ने चिन्ता आम कार्यकर्ताको रहेको बताए ।
स्थानीय निकायमा विवाद हुँदा पनि पार्टीले आफ्नो धारणासमेत स्पष्ट पार्न नसकेकोमा उनको असन्तुष्टि थियो । ‘यी सबै कुरामा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउनुपर्यो, जुन दिन उहाँलाई आवश्यकता हुन्छ त्यही दिन त बोलाउनुहोला,’ उनले भने, ‘तर अहिले नै आवश्यकता देखिएको छ ।’
सिंहले विवाद टुंग्याएर तीनै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.