-->
Loading...
भारतीय भुमिमा नेपाली टोलीलाई इतिहास रच्ने अवसर!

भारतमा जारी १२ अाैं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा दुवै (महिला तथा पुरुष) को फाइनलमा नेपालले सोमवार आयोजक राष्ट्र भारतको सामना गर्दैछ। संयोग भन्नु पर्छ भारतको गुवाहाटीमा जारी सागमा दुवै फुटबल टोलीले चिरप्रतिद्वन्द्वी भारतलाई नै प्रतिस्पर्धीका रुपमा पाएका छन्।
साग फुटबलमा महिला तथा पुरुष टोली दुबै भारतलाई हराएर स्वर्ण पदक हात पार्ने ध्याउन्नमा छन्। भारतसँगको उपाधिको भिडन्त पुरुष फुटबलको उपाधि भिडन्त गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा नेपाली समयअनुसार साँझ सवा ७ बजे हुने छ भने महिला फुटबलको फाइनल सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा दिउँसो ४ः१५ बजे हुनेछ ।
नेपाली पुरुष फुटबल टोली माल्दिभ्समाथि नाटकीय जित निकाल्दै फाइनलमा भारतसँगको प्रतिस्पर्धा पक्का गरेको थियो भने भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो। छिमेकी मुलुक भारत र नेपाली फुटबल टोली एकअर्कामा परिचित छन्। दुवै एकअर्काका चिरप्रतिद्वन्द्वी हुन् धेरै अघि देखिका।
यसैगरी महिला फुटबलमा दक्षिण एशियाली राष्ट्रहरुमा सबै भन्दा बलियो टोली मानिन्छन् नेपाल र भारत। नजिता पनि त्यस्तै आएको छ दुवैले फाइनलमा एकअर्कालाई प्रतिस्पर्धी पाएका छन्।
सन् १९८४ बाट सुरु भएको साग खेलकुदको पहिलो संस्करणमा फुटबलका स्वर्ण जितेको थियो जुन खेलमा अहिले नेपाली फुटबल टोलीका प्रशिक्षक खेलाडीका रुपमा थिए। त्यतिबेला स्वर्ण पदक जित्दाका खेलाडी रहेका राजुकाजी शाक्य अहिलेको नेपाली टोलीको प्रशिक्षकको भूमिकामा छन्।
यस्तै सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साग (तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद) प्रतियोगितामा भने नेपाली टोली शाक्यकै कप्तानीमा मैदान उत्रिएको थियो। सोही खेलमा राजुकै कप्तानीमा नेपालले स्वर्ण पदक हात पारेको थियो नेपालले। सोमवार भारतविरुद्ध नेपालले जित हात पार्दै स्वर्ण पदक हात पारे प्रशिक्षक राजु साग खेलकुदमा तीन फरक भूमिकामा स्वर्ण पदक हात पार्नेछन्।
२३ वर्षसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको नेपाली फुटबलको खडेरी अघिल्लो महिना बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेर नेपाली फुटबल खेलाडीले आफ्नो बास्तिविक क्षमता देखाइसकेका छन्। भारतमै जारी साग फुटबलमा पनि राम्रै प्रदर्शन गरेको नेपालले समूह चरणको खेलमा बंगलादेशसँग २–१ ले पराजित भएपछि अन्तिम खेलमा माल्दिभ्समाथि नाटकीय जित निकाल्दै फाइनलमा स्थान बनाएर नेपाली दर्शकलाई खुशी बनाउनुका साथै नेपाली फुटबलको नयाँ युगको परारम्भ समेत गर्न सफल भएको ठान्छन् एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ।
श्रेष्ठले भने झैं भारतविरुद्ध फाइनलमा जित निकाले नेपाली फुटबलका लागि महत्वपूर्ण दिन बन्ने सक्नेछ। श्रेष्ठले भनेका छन्– नवयुगहरु नेपाली फुटबलमा चम्किएपछि फुटबलको नयाँ युग परारम्भ भएको छ। त्यसैले पनि भारतविरुद्धको खेल जिते नेपाली फुटबलको इतिहास बन्नेछ।
सन् २००४ यता साग फुटबलमा यु–२३ खेलाडीलाई समावेश गरिँदै आएको छ। १२ औँ सागको संस्करणमा नेपाली टोलीमा यसअघिका भन्दा नयाँ तर अनुभवी खेलाडी समाबेश छन्। युवा स्ट्राइकर नवयुग श्रेष्ठ, विमल घर्ती मगर र बिशाल राईको प्रदर्शन प्रसंशायोग्य छ।
अझ आर्मीका फरवार्ड नवयुगले जारी साग फुटबलमा भुटान र माल्दिभ्सविरुद्ध दुईवटा ह्याट्रिकसहित पाँच गरेर नेपालको स्ट्राइकिङ लाइन अपलाई बलियो सावित गरिसकेका छन्। फुर्तिला र छरितो खेल्ने विमलको प्रदर्शन पनि उत्तिकै लोभलाग्दो छ। यस्तै मिडफिल्ड र रक्षापंत्तिमा पनि राम्रै रहेकाले नेपालले भारतलाई कडा चुनौति दिनेछ।
महिला फुटबलमा भारतसँग बदला लिने अबसर
दक्षिण एशियाली राष्ट्रहरुमा नेपाल र भारत महिला फुटबलमा कहलिएकै राष्ट्र हुन्। नेपालले प्राय खेलमा भारत बाहेक अन्य राष्ट्रहरुसँगको खेलमा कमै पराजय भोग्नु परेको छ।
नेपाली महिला टोलीले भारतलाई अहिलेसम्म पराजित गर्न सकेको छैन। दक्षिण एशियाली राष्ट्रमा भारतबाहेक सवै टोलीलाई हराउँदै आएको नेपालले भारतविरुद्ध भने एक बराबरीको नजिता बाहेक अहिलेसम्म सुखद नतिजा निकाल्न सकेको छैन। जारी सागमा भारतसँग नेपालले गोलरहित बराबरी खेलेको थियो।
भारतविरुद्ध नेपाली महिला टोलीको ठूलो सफलता भनेको यही बराबरी हो। त्यसैले पनि नेपाली टोलीलाई भारतविरुद्धको खराब इतिहास उल्टाउँदै १२ औँ सागमा स्वर्ण जित्ने अबसर हुनेछ। भारतलाई जिते नेपाली महिला टोलीले यसअघि भारतविरुद्ध व्यहोर्दै आएको पराजयको बदला लिनेछ। बंगलादेशको ढाकामा भएको ११ औँ साग खेलकुदबाट महिला फुटबलले सागमा प्रवेश पाएको हो। त्यतिबेला नै नेपाली महिला टोलीले रजत पदक हात पारेको थियो।
साफ महिला च्याम्पियनसिपका पछिलला तीन संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। नेपालले भारतसँग झिनो गोलअन्तरले पराजित हुँदै आएपनि सन् २०१४ मा पाकिस्तानको इस्लामाबादमा भएको महिला साफ च्याम्पियनसिपमा भारतसँग अहिलेसम्मकै फराकिलो अन्तर ६–०ले पराजित भएको थियो।
भारतको गुवाहाटीमा जारी सागमा राउन्ड रोबिनका आधारमा भएको खेलमा अपराजित रहेको नेपाली महिला टोलीले श्रीलंकालाई ४–०, बंगलादेशलाई ३–०, माल्दिभ्सलाई २–० ले पराजित गरेको थियो भने भारतसँग गोलरहित बराबरी खेलेको थियो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.